आजदेखि घटस्थापनाको अघिल्लो दिनसम्म वर्षाको सम्भावना

आजदेखि घटस्थापनाको अघिल्लो दिनसम्म वर्षाको सम्भावना

काठमाडौं । मनसुन नेपालबाट बाहिरिने क्रम सुरु भए पनि आगामी दिनमा वर्षाको गतिविधि बढ्ने मौसमविद्ले बताएका छन् । आजदेखि पर्सिसम्म वर्षा अलि धेरै हुने सम्भावना रहेको मौसमविद्को भनाइ छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार पूर्वी नेपालमा मनसुनी प्रणाली बाँकी रहेको, बंगालको खाडी र अरेबियन सागरबाट जलवाष्पयुक्त वायु आइरहेकाले वर्षाको गतिविधि बढ्ने भएको हो ।

मौसमविद पोखरेल भन्छन्, ‘अहिलेसम्मको अवस्था हेर्दाखेरि लगभग दशैंको घटस्थापनाको अघिल्लो दिनसम्म धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।’ दशैंको घटस्थापनाको दिन भने पानी पर्ने क्रम अलि कम हुने उनको अनुमान छ ।

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् माधवी सिग्देलले पनि आजदेखि देशका विभिन्न भूभागमा वर्षाका गतिविधि छिटपुट रूपमा जारी रहने बताइन् ।

महाशाखाले तीन दिनसम्म मात्र मौसम पूर्वानुमान सार्वजनिक गर्ने गरेको छ । आगामी तीन दिनसम्मै वर्षाको गतिविधि जारी रहने मौसमविद सिग्देलले बताइन् ।

आगामी दिनमा विशेषगरी पश्चिमी भूभागमा वर्षाका गतिविधि बढ्ने सम्भावना रहेको उनले जानकारी दिइन् ।

मौसमविद्का अनुसार आज पनि वर्षाको सम्भावना छ । आज दिउँसो काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा र तराईका पनि केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सिग्देलको भनाइ छ ।

मौसमविद पोखरेलका अनुसार भोलि असोज २० गते पहाडी भेगका धेरै ठाउँमा वर्षाको सम्भावना छ ।

पर्सि असोज २१ गते पश्चिमदेखि पूर्वका अझै धेरै ठाउँमा वर्षाको सम्भावना छ । मौसमविद पोखरेलका अनुसार २१ गते सुदूरपश्चिमका एक–दुई ठाउँमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ ।

छुटाउनुभयो कि ?