एमाले र मसालसँग सहकार्यको समझदारी भइसकेको छ :  प्रचण्ड

एमाले र मसालसँग सहकार्यको समझदारी भइसकेको छ :  प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र राष्ट्रिय जनमोर्चा (मसाल) सँग सहकार्य गर्ने समझदारी भइसकेको बताएका छन् ।

नेकपा बागमती प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले वामपन्थी तथा देशभक्त शक्तिहरूसँग सहकार्यका लागि लगातार छलफल भइरहेको र एमाले तथा मसालसँग सहकार्यको समझदारी भइसकेको बताएका हुन् ।

उनले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र प्राप्त अधिकारमाथि भइरहेको प्रहारको सामना गर्न सबैलाई एकजुट भएर अघि बढ्न अपिल गरे ।

सरकारका गलत नीति–निर्णयविरुद्ध सदनमार्फत खण्डन र आलोचना गर्ने काम भइरहेको भन्दै उनले अब सडकमा गएर पनि सरकारलाई खबरदारी गर्नुपर्ने आवश्यकता महसुस भएको बताए । सडकमा गएर खबरदारी नगरे अहिले देखा परेको प्रतिक्रान्तिको हावालाई रोक्न नसकिने उनको भनाइ थियो ।

त्यस्तै, प्रचण्डले प्राविधिक तथा तयारी पर्याप्त नभएका कारण यसअघि तय गरिएको मङ्सिर ११ गतेको महाधिवेशन सम्भव नदेखिएको बताए । यही हप्ता बस्ने केन्द्रीय बैठकबाट महाधिवेशनको नयाँ कार्यतालिका तय गरिने उनले जानकारी दिए ।

उनले दुई महिने अभियान अन्तर्गत टोल–गाउँसम्म पुगेर काम गर्ने, सदस्यता नवीकरण तथा विस्तार गर्नेजस्ता महाधिवेशन तयारीका काम सुरु भइसकेको बताए ।

छुटाउनुभयो कि ?