राजनीतिक दलहरू पुरानै ढर्रामा सीमित रहन सक्दैनन्: पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई

राजनीतिक दलहरू पुरानै ढर्रामा सीमित रहन सक्दैनन्: पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले परिवर्तनशील विश्व परिवेशअनुसार नेपालका राजनीतिक दलहरूले आफूलाई बदल्नुपर्ने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पुरानै ढाँचा र शैलीमा अब राजनीति चलाउन नसकिने स्पष्ट पारे।

२१औँ शताब्दीमा विश्वभर भइरहेको तीव्र र अभूतपूर्व विकासलाई औंल्याउँदै भट्टराईले नेपालको राजनीतिक वृत्तले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति परिपक्व ढङ्गले बुझ्नुपर्नेमा जोड दिए।

"अहिलेको युगमा विश्वमा चमत्कारी विकास भइरहेको छ, जसले राजनीतिक दलहरूलाई पुरानै ढर्रामा बसिरहने छुट दिँदैन," उनले भने, "नेपालमा भइरहेको राजनीतिक उथलपुथलको भित्री कारण र यसका राष्ट्रिय-अन्तर्राष्ट्रिय परिवेशलाई गम्भीरताका साथ बुझ्न आवश्यक छ।"

संविधान जारी भएको १२ वर्ष बितिसक्दा पनि दलहरू केवल सरकार बनाउने र ढाल्ने खेलमा मात्र रुमल्लिएको भन्दै उनले असन्तोष व्यक्त गरे। आर्थिक समृद्धिको मुख्य दिशामा अघि बढ्न नसक्दा जनतामा निराशा र आक्रोश बढेको उनको भनाइ थियो।

गत वर्षका राजनीतिक घटनाक्रम र जनविद्रोहबारे चर्चा गर्दै उनले भने, "कतिपयले यसलाई विदेशी षड्यन्त्र भन्छन्, तर अरूलाई दोष दिएर हामी उम्किन मिल्दैन। यसको मुख्य जिम्मेवार हामी आफैँ हौँ। हामीले आफ्ना युवा र छोराछोरीलाई देशभित्रै भविष्य र आशाको सपना देखाउन सकेनौँ।"

साथै, ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त संविधानमा अनावश्यक बहानामा छेडखानी गर्न नहुनेमा उनले जोड दिए। समयसापेक्ष र आवश्यक विषयहरू छन् भने संविधान संशोधनमार्फत थप गर्दै लैजान सकिने उनको धारणा थियो।

छुटाउनुभयो कि ?