काठमाडौँ । जनमत पार्टीको अध्यक्षमा पुन: डा. सीके राउत निर्वाचित भएका छन्। वीरगन्जमा सम्पन्न जनमतको दोस्रो महाधिवेशनमा भएको निर्वाचनमा राउत ९५८ मतसहित अध्यक्षमा विजयी भएका हुन्।
अध्यक्ष पदमा राउतको मात्र उम्मेदवारी परे पनि पार्टीको विधानअनुसार उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत ल्याउनुपर्ने प्रावधान भएकाले राउतका पक्षमा पनि मतदान भएको थियो। २६ पदाधिकारीसहित ९९ जना उम्मेदवारका लागि मतदान भएको थियो।
उपाध्यक्षमा अनिताकुमारी मण्डल (सिरहा), अनितादेवी साह (धनुषा), नरेन्द्रप्रसाद चौधरी (कपिलवस्तु), बसन्तकुमार कुशवाहा (रौतहट), डा. जयकान्त राउत (सप्तरी), राजयकुमार यादव (सिरहा) र माधवप्रसाद सिंह (पर्सा) विजयी भएका छन्।
यस्तै महासचिव पदमा सञ्जयकुमार यादव (सिरहा) निर्वाचित भएका छन्। उनी ६१८ मत सहित महासचिव पदमा विजयी भएका हुन्। उपमहासचिव पदमा सिरहका निर्मलकुमार मण्डल ५०१ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी ललितचन्द्र मल्लिकले ४१४ मत पाए । सचिव पदमा सुरेन्द्र शर्मा, पारसप्रसाद साह, सन्तोष राज सहनी, अन्जनी देवी, राधाकुमारी यादव, हरेन्द्र चौधरी र बालगोविन्द चौधरी निर्वाचित भएका छन्।