काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज १८ गते काठमाडौंको खुलामञ्चमा हुँदै छ ।
महाधिवेशनको उद्घाटन समारोहमा सहभागिताका लागि पार्टीले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई व्यक्तिगत रूपमा निमन्त्रणा पत्र हस्तान्तरण गरेका थिए । आमन्त्रण गरिएका मध्ये अधिकांश राजनीतिक दलका प्रमुखहरू समारोहमा स्वयं उपस्थित नहुने भएका छन् ।
उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफैँ सहभागी हुने तय भएको छ । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ महाधिवेशन उद्घाटन समारोहमा उपस्थित भई कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
अर्कोतर्फ, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बुवाको निधनको शोक (बरखी) मा रहेकाले महाधिवेशनमा सहभागी नहुने भएका छन् र उनको सट्टामा पार्टीका महासचिव शंकर पोखरेलले कार्यक्रममा सहभागी भई शुभकामना मन्तव्य राख्नेछन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुने भएका छन् भने जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव स्वयं उपस्थित हुन नसक्ने भएपछि उनले आफ्नो तर्फबाट सहअध्यक्ष शरतसिंह भण्डारीलाई पठाउने भएका छन् ।
स्वदेशी दलीय नेतृत्वका अतिरिक्त महाधिवेशनमा भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा विजय चौथोबालेजस्ता अन्तर्राष्ट्रिय प्रतिनिधिहरू, विभिन्न मुलुकका जनसम्पर्क समितिका प्रतिनिधिहरू तथा विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ ।