काठमाडौँ। नेपाली कांग्रेसको आगामी १८ देखि २२ गतेसम्म तय भएको १५औँ महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्।
कांग्रेस नेता उदयशमशेर राणाका अनुसार सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने महाधिवेशनमा उपस्थित हुने निश्चित भएको छ। यसअघि रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी भएका थिए।
महाधिवेशनमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित भएर शुभकामना दिने तयारीमा रहेका छन्। यसैगरी, श्रम संस्कृति पार्टीबाट महासचिव आरेन राई सहभागी हुने भएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको सहभागिताबारे भने अन्योल कायमै छ।
अर्कोतर्फ, पार्टीभित्रको आन्तरिक विवादका कारण पूर्वसभापति शेरबहादुर देउवा पक्षले भने आगामी मंसिरमा महाधिवेशन गर्ने गरी समानान्तर गतिविधि अगाडि बढाएको छ। देउवा पक्षका नेता प्रकाशशरण महतका अनुसार दसैँअगाडिसम्ममा वडा अधिवेशन सम्पन्न गर्ने गरी काम भइरहेको छ।