बजारमा कालोबजारी रोक्न सरकारको तयारी: संयुक्त अनुगमन टोलीले तीव्रता पाउने

बजारमा कालोबजारी रोक्न सरकारको तयारी: संयुक्त अनुगमन टोलीले तीव्रता पाउने

काठमाडौं। सरकारले आगामी चाडपर्वलाई लक्षित गरी बजारमा हुन सक्ने कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि र ठगी नियन्त्रण गर्न संयुक्त अनुगमन टोली गठन गरी बजार अनुगमनलाई तीव्रता दिने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले उपभोक्ता हित संरक्षण र बजार व्यवस्थापनका लागि संयुक्त टोली परिचालन गर्न लागिएको जानकारी दिए।

पत्रकार सम्मेलनमा प्रवक्ता अर्यालले चालु आर्थिक वर्षका लागि विभिन्न मन्त्रालयहरूबाट प्रस्तावित वार्षिक कार्यक्रमहरूको विस्तृत कार्ययोजना लागू गर्ने निर्णय भएको बताए। साथै, बजेट र कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायहरूसँग कार्यसम्पादन सम्झौतासमेत सम्पन्न भइसकेको उनले स्पष्ट पारे।

यसैगरी, प्रधानमन्त्रीले संसद्लाई उपेक्षा गरेको भन्ने आरोपको खण्डन गर्दै प्रवक्ता अर्यालले भदौ १० गते प्रतिनिधिसभामा सम्बोधन गर्ने पूर्ण तयारी रहे पनि एक्कासि आएको प्राकृतिक विपद् र बाढीका कारण परिस्थिति सान्दर्भिक नभएकाले सम्बोधन हुन नसकेको स्पष्ट पारे। प्रधानमन्त्रीबाट संसद्लाई छल्ने वा उपेक्षा गर्ने कुनै नियत नरहेको उनको भनाइ थियो।

छुटाउनुभयो कि ?