१५औं महाधिवेशनका लागि देउवा पक्षद्वारा ७७ जिल्लामै संयोजक तोकियो, मंसिरमा छुट्टै महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक

१५औं महाधिवेशनका लागि देउवा पक्षद्वारा ७७ जिल्लामै संयोजक तोकियो, मंसिरमा छुट्टै महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक

काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको समानान्तर तयारी तीव्र पार्दै ७७ वटै जिल्लामा सभापति तथा संयोजक मनोनयन गरेको छ। पूर्वमहामन्त्री डा. शशांक कोइराला संयोजक रहेको ‘१५औँ महाधिवेशन तयारी समिति’ले जिल्ला तहमा संयोजक तोकेर अधिवेशन प्रक्रिया औपचारिक रूपमा अघि बढाएको हो।

देउवा पक्षले सार्वजनिक गरेको नयाँ कार्यतालिका अनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन सञ्चालन गरिनेछ। त्यसपछि मंसिर २१, २२ र २३ गते काठमाडौँमा १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ।

जिल्ला तयारी समितिले प्रतिनिधिसभा, प्रदेशसभा, पालिका र वडा तहसम्मै तयारी समिति गठन गरी निर्वाचन प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ। ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृतहरूसमेत खटाइइसकेको जनाइएको छ।

मनोनित संयोजकहरूमा ताप्लेजुङमा राज थेबे, पाँचथरमा डेकेन्द्रकुमार तामाङ, झापामा कृष्ण हुमागाईं, संखुवासभामा रामकुमार जिमी, भोजपुरमा धर्मराज राई, मोरङमा सुभाष पौडेल, सोलुखुम्बुमा प्रेमध्वज बस्नेत, खोटाङमा रोजन राई र ओखलढुंगामा बालगोविन्द राजभण्डारी रहेका छन्।

यस्तै काठमाडौँमा जयकृष्ण महर्जन, भक्तपुरमा दुर्लभ थापा, ललितपुरमा सुदर्शन घिमिरे, चितवनमा मिलन श्रेष्ठ, कास्कीमा ऋषीराम काफ्ले, रुपन्देहीमा गुनाखर भुर्तेल, बाँकेमा कृष्ण कार्की, सुर्खेतमा ललित भट्टराई, कैलालीमा खेमराज डगौरा थारु, कञ्चनपुरमा पदम बोगटी र डडेल्धुरामा डिल्लीराज जोशीलगायतले जिल्ला संयोजकको जिम्मेवारी पाएका छन्।

सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुईकेलद्वारा जारी विज्ञप्ति अनुसार सबै तहका अधिवेशनहरूमा पार्टीका नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यहरूलाई उत्साहपूर्वक सहभागी गराइनेछ।

यसअघि कांग्रेसको आधिकारिक केन्द्रीय निर्वाचन समितिले २०८३ असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो। तर देउवा पक्षले मंसिरका लागि छुट्टै कार्यतालिका सार्वजनिक गरेसँगै नेपाली कांग्रेसभित्र महाधिवेशनको प्रक्रिया पूर्ण रूपमा समानान्तर बनेको छ।

छुटाउनुभयो कि ?