‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८३’ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८३’ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रियसभामा उत्पत्ति भएको उक्त विधेयक पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको हो।

प्रस्ताव प्रस्तुत गर्दै मन्त्री पुनले डीएनए परीक्षण प्रक्रियालाई छिटो-छरितो र प्रभावकारी बनाउनुका साथै यसको सेवा प्रदेशस्तरमा विस्तार गर्ने उद्देश्यले विधेयक ल्याइएको जानकारी दिए।

विधेयकमा प्रयोगशालाका महत्त्वपूर्ण तथ्याङ्क तथा विवरणहरू अनधिकृत रूपमा बाहिर नजाने गरी पूर्ण सुरक्षा सुनिश्चित गर्ने कडा प्रावधान राखिएको उनले बताए। मन्त्री पुनका अनुसार विधेयकमा परेका विषयवस्तुहरूमा सांसदहरूले यसअघि नै गहन छलफल गरिसकेका छन्।

यसअघि विधेयकमाथिको छलफलमा सांसदहरू शोभा खनाल, बसुमाया तामाङ, मञ्जु भुसाल, गङ्गालक्ष्मी अवाल, सुशीला ढकाल आचार्य, टेकबहादुर शाक्य, प्रमिला कुलुजू, हरिमोहन भण्डारी, जनकसिंह धामी, पुकार बम, नीता घतानी, एशुदाकुमारी बराल, गुरूप्रसाद बराल, गणेशबहादुर विश्वकर्मा, साजिदा खातुन सिद्धिकी र लेखजङ्ग थापाले सहभागिता जनाउँदै आ-आफ्नो धारणा राखेका थिए।

छुटाउनुभयो कि ?