ठूला माछा नसमाती सुशासन सम्भव छैन : बाबुराम भट्टराई

ठूला माछा नसमाती सुशासन सम्भव छैन : बाबुराम भट्टराई

काठमाडाैँ । नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारासहित निर्वाचित सरकार ‘ठूला माछा’ समात्ने प्रकरणमा एकपछि अर्को गर्दै पछि हट्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भएको बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमा रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहको तस्बिर सेयर गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्। उनले गरिबले हतारमा प्रमाण छोडेर गरेको सानो चोरीमा सजाय पाउने तर पहुँचवाला व्यक्तिले प्रमाण नछोडी ठूलो अपराध गर्दा प्रमाण अभावमा निर्दोष ठहरिने अवस्था रहेको भन्दै न्यायिक प्रणालीमाथि प्रश्न गरेका छन्।

उनले लेखेका छन् ‘सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ठूला माछा समात्ने प्रकरणहरूमा एक पछि अर्को गरी पछि हट्नुपर्ने स्थिति आउनु विडम्बनापूर्ण छ ! हो, लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ तर, झुत्रेझाम्रे भोको मान्छेले हतारमा प्रमाण छोडेर बारीको कांक्रो चोर्दा पक्रिएर दण्डित हुने ! अनि पेट भरिएको सुकिलामुकिलाले सबुत नछोडिकन भित्ता फोरेर हिरा चोर्दा प्रमाण नभेटिएर निर्दोष ठहर्ने ! हाम्रो यस्तो न्यायिक प्रणालीलाई के गर्ने ?

भट्टराईले देशलाई व्यवस्थित रूपमा लुट्दै आएका र भविष्यमा पनि लुटिरहने विभिन्न भेषधारी गिरोहलाई नष्ट नगरी सुशासन र समृद्धिको सही सुरुवात हुन नसक्ने बताएका छन्। ‘देशलाई व्यवस्थित ढंगले लुट्दै आएका र भविष्यमा पनि लुटिरहने विभिन्न भेषधारी गिरोहलाई पहिले नष्ट नगरी सुशासन र समृद्धिको सही शुरूवात हुन्न है !’ उनले लेखेका छन् ।

छुटाउनुभयो कि ?