काठमाडौँ। कैलालीको गोदावरी नगरपालिका–१ स्थित अत्तरिया र बसपार्कमा खसीको भनेर बाख्रा र कुकुरको मासु बेच्न खोजेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
शुक्रबार अत्तरिया बजारको धनगढी लाइनमा सञ्चालित रफिक मासु पसलबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मासु पसल सञ्चालक भारतीय नागरिक ६५ वर्षीय रफिक करेसी र कञ्चनपुरको कृष्णपुर घर भएका ४१ वर्षीय गणेश धामी छन् ।
उनीहरुले खसीको भनेर बाख्राको मासु बेचेको आरोप छ । उनीहरूमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाले बताए । आरोपीहरूमाथि इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरिरहेको छ । बरामद गरिएको मासु परीक्षणको लागी प्रयोगशालामा पठाइएको छ।
त्यस्तै, बिहीबार इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले कुकुरको मासु बेच्न खोजेको आरोपमा गोदावरी–१ स्थित बसपार्कबाट ६५ वर्षीय सुरेश नेपालीलाई पक्राउ गरेको थियो।
कुकुर काटेको सूचना आएपछि उनलाई नियन्त्रणमा लिइएको डीएसपी तिमिल्सिनाले जानकारी दिए । गोदावरी नगरपालिका–२ घर भएका नेपालीले आफैँले खानको लागी स्यालको मासु काटेको अनुसन्धान अधिकृतहरूसँग बताएका छन् । प्रहरीले सो मासु परीक्षणको लागी प्रयोगशालामा पठाएको छ । सुरेशबाट बरामद गरिएको मासु कुन जनावरको हो भन्ने पुष्टि भएको छैन।