काठमाडौं। लगातारको वर्षाका कारण सडकमा पहिरो र लेदो खस्ने जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सम्पूर्ण सवारीसाधनलाई नागढुंगामा रोकिएको छ।
बिहीबार साँझ ८ बजेदेखि नागढुंगा क्षेत्रमा यात्रुवाहक तथा मालवाहक बस, साना गाडी र मोटरसाइकल लगायतका सवारीसाधन होल्ड गरिएको हो। नागढुंगा–नौबिसे सडकखण्ड हुँदै धादिङ, चितवन, पोखरा र गोरखालगायतका विभिन्न जिल्लातर्फ जाने लामो तथा छोटो दूरीका सवारीसाधन रोकिँदा यात्रु तथा चालकहरू समस्यामा परेका छन्।
मौसम तथा सडकको अवस्थामा सुधार आएपछि सुरक्षा निकाय र सम्बन्धित अधिकारीहरूको समन्वयमा सवारीसाधनलाई गन्तव्यतर्फ पठाइने जनाइएको छ। सम्भावित खतरालाई ध्यान दिँदै अत्यावश्यक बाहेकका यात्रा नगर्न र लामो दूरीको यात्रामा निस्कनुअघि अनिवार्य रूपमा सडकको स्थिति बुझ्न सम्बन्धित निकायले सबैलाई आग्रह गरेको छ।