भारी वर्षाको जोखिम: पृथ्वी राजमार्ग र बिपी राजमार्गसहित मुख्य सडकहरूमा रात्रिकालीन सवारी सञ्चालनमा रोक

भारी वर्षाको जोखिम: पृथ्वी राजमार्ग र बिपी राजमार्गसहित मुख्य सडकहरूमा रात्रिकालीन सवारी सञ्चालनमा रोक

काठमाडौं।  असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै नेपाल प्रहरीले सम्भावित जोखिम न्यूनीकरणका लागि विभिन्न राजमार्गहरूमा रात्रिकालीन सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै अविरल वर्षाका कारण हुन सक्ने पहिरो तथा बाढीको जोखिमबाट बचाउन मुख्य–मुख्य राजमार्गहरूमा तोकिएको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको जनाएको हो।

जसअनुसार पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा आज बेलुका ८:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। त्यसैगरी बिपी राजमार्गमा बेलुकी ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी चलाउन पाइने छैन।

सिद्धिचरण लोकमार्गमा भने आजदेखि असोज १२ गतेसम्म बेलुकी ६:०० बजेदेखि बिहान ६:०० बजेसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सवारीसाधन तथा पैदलयात्रीको आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

यस्तै कान्ति राजमार्गका साथै मकवानपुर जिल्लाको भैँसे–भीमफेदी–देउराली–कुलेखानी हुँदै काठमाडौँ जोड्ने सडकखण्डमा पनि बेलुका ७:०० बजेदेखि सवारी आवागमन पूर्ण रूपमा रोक लगाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। देशभर मनसुन सक्रिय भई जोखिम बढेकाले प्रहरीले यात्रुहरूलाई मौसमको स्थिति हेरेर मात्र यात्रा गर्न र अत्यावश्यक बाहेक रातिको समयमा जोखिमपूर्ण यात्रा नगर्न विशेष आग्रह गरेको छ।

छुटाउनुभयो कि ?