काठमाडौं । मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव र बङ्गालको खाडीमा बनेको गहिरो न्यून चापीय प्रणालीका कारण देशभर मौसम बदली भई वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण जनजीवन प्रभावित हुनुका साथै सम्भावित जोखिमलाई ध्यानमा राख्दै देशका विभिन्न भागमा विद्यालयहरू दुई दिनका लागि बन्द गरिएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीमा बनेको प्रणाली उत्तरपश्चिमतर्फ सर्ने क्रममा रहेकाले नेपालमा यसको प्रत्यक्ष प्रभाव परेको छ। हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
असोज ८ गतेको मौसम
-
दिउँसो र राति: कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई तथा पहाडी भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्नेछ। साथै तराईका भूभागमा तीव्र हावाहुरीको समेत सम्भावना रहेको छ।
असोज ९ गते (शुक्रबार):
-
दिउँसो र राति: देशभर बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा 'अति भारी' वर्षाको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन भनिएको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।
असोज १० गते (शनिबार):
-
दिउँसो र राति: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मनसुनी गतिविधि बढी सक्रिय रहनेछ। यी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। मधेश र कोशी प्रदेशका तराई भागमा हावाहुरी र मध्यम वर्षाको पूर्वानुमान गरिएको छ।
महाशाखाले भारी वर्षा र हावाहुरीका कारण पहिरो, बाढी तथा सहरी क्षेत्रमा डुबानको जोखिम रहेकाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।