बंगालको खाडीको प्रभाव: आजदेखि देशभर भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

बंगालको खाडीको प्रभाव: आजदेखि देशभर भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ। बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीका कारण काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू-भागमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि वर्षाको मात्रा र क्षेत्र झन् बढ्ने सम्भावना रहेको छ।

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशका पाल्पा र कपिलवस्तु जिल्लामा मापन गरिएको छ। पाल्पाको बल्ड्याङगढीमा १२८.६ मिलिमिटर, कपिलवस्तुको भगवानपुरमा १२२ मिलिमिटर र मैनारमा ११७ मिलिमिटर वर्षा भएको छ। यसैगरी गण्डकी प्रदेशका तनहुँ, कास्की, स्याङ्जा, पाल्पा तथा आसपासका क्षेत्रहरूमा पनि निरन्तर वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय प्रणालीको प्रभाव देशभर पर्ने भए पनि विशेष गरी लुम्बिनी र गण्डकी प्रदेशमा बढी असर देखिने अनुमान छ। यद्यपि पूर्वदेखि पश्चिम र हिमालदेखि तराईसम्मै सबैलाई पूर्वतयारी र सतर्कता अपनाउन मौसमविद्हरूले जोड दिएका छन्।

आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँका साथै मधेश र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा अति भारी वर्षा हुन सक्ने र मधेश तथा कोशी प्रदेशको तराई क्षेत्रमा हावाहुरीसमेत चल्ने महाशाखाको पूर्वानुमान छ।

आइतबारसम्मै धेरै स्थानमा ठूलो पानी पर्ने भएकाले पहिरो, खोला तथा नदीमा बाढी आउन सक्ने र हवाई तथा सडक यातायात प्रभावित हुन सक्ने जोखिम रहेको छ। सम्भावित विपद्बाट बच्न आवश्यक सावधानी र पूर्वतयारी अपनाउन महाशाखाले आग्रह गरेको छ।

छुटाउनुभयो कि ?