काठमाडौं। रसुवामा आएको विनाशकारी बाढी तथा त्यसपछिको विपद्का कारण हालसम्म १ हजार ४५१ जनाको मृत्यु भएको पुष्टि भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मङ्गलबार साँझ ७ बजेसम्मको अद्यावधिक तथ्याङ्क सार्वजनिक गर्दै मानवीय क्षति र उद्धारको पछिल्लो अवस्थाबारे जानकारी गराएको हो।
प्राधिकरणका अनुसार फेला परेका मृतकहरूको विवरणमा ५४५ पुरुष र ३३६ महिला रहेका छन् भने ५३० वटा आंशिक मानव अङ्गहरू फेला परेका छन्। बाढी तथा पहिरोमा परेर अझै ५ हजार ७०५ जना मानिसहरू बेपत्ता रहेको र उनीहरूको खोजी कार्य निरन्तर जारी रहेको प्राधिकरणले जनाएको छ।
बाढीको असर रसुवासहित आसपासका विभिन्न जिल्लाहरूमा परेको छ। सङ्कलित विवरणअनुसार सबैभन्दा धेरै मानवीय क्षति चितवनमा भएको छ, जहाँ ३६७ जनाको मृत्यु भएको छ।
यसैगरी नुवाकोटमा २३६, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२ र रसुवामा २०३ जनाको ज्यान गएको छ। त्यस्तै गोरखामा ७९, धादिङमा ७२ तथा तनहुँमा ३८ जनाले ज्यान गुमाएका छन्।
विपद्पछि निरन्तर खटिएका सुरक्षाकर्मी तथा उद्धारटोलीले खोजी तथा उद्धारका क्रममा हालसम्म १३ हजार ७९५ जनाको सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारेका छन्। प्रभावित क्षेत्रहरूमा राहत वितरण र थप खोजी कार्यलाई तीव्रता दिइएको प्राधिकरणले जनाएको छ।