काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो असहमति नरहेको बताएका छन् ।
केन्द्रीय कमिटीको बैठकमा उनले पार्टीमा असमझदारी आउने गरी विशेष महाधिवेशनको नेतृत्व आफूले नगर्ने धारणा राखे । केन्द्रीय सदस्य सूर्य थापाका अनुसार, पोखरेलले बैठकमा भने, “सँगसँगै बसेर काम गरिरहँदा अध्यक्ष कमरेडलाई अभियोग लगाउने काम मबाट हुँदैन ।”
उनले आफू ओलीको असहमतिमा अध्यक्ष नबन्ने धारणा राखेका छन् ।
“तपाईंको असहमतिमा म पार्टीको अध्यक्ष बन्दिनँ,” थापाले पोखरेलको भनाइ उद्धृत गरेका छन् “पार्टी अध्यक्षसँग मेरो असहमति छँदै छैन, तपाईंलाई त्यस्तो अनुभूति छ भने भोलिको दिनदेखि नै हुनेछैन । यो विश्वास दिलाउन चाहन्छु ।”