साधु सन्तसहितको जन्ती जनकपुरधाम आइपुग्यो

साधु सन्तसहितको जन्ती जनकपुरधाम आइपुग्यो

जनकपुर : श्रीराम–जानकी विवाह पञ्चमी महोत्सवमा सहभागी हुन भारतको अयोध्याबाट हिँडेको जन्ती बिहीबार ऐतिहासिक धार्मिक तथा सांस्कृतिक नगर जनकपुरधाम आइपुगेको छ । मंसिर ५ गतेका दिन अयोध्याबाट हिँडेका जन्ती बुधबार मठिहानी हुँदै नेपाल प्रवेश गरेका साधु सन्तसहितको जन्ती बिहीबार जनकपुरधाम आइपुगेका हुन् ।

पाँच सयभन्दा बढीको संख्यामा आएको ती जन्तीहरुलाई मठिहानी, जलेश्वर र पिपरालगायतका ठाउँमा स्वागत गरिएको थियो । जनकपुरधाममा भने नगर परिक्रमासहित स्वागत गरिएको छ । जनकपुरधाममा प्रवेश गर्दा धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले स्वागत गरेका थिए ।

अयोध्याबाट आएका जन्तीलाई शुक्रबार जनकपुरधामस्थित रंगभूमि मैदान बाह्र बिघामा हुने विशेष कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने कार्यक्रम रहेको छ ।