काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अर्थात् नेपालनजिक छ। साथै नेपालमा उत्तर प्रदेश आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावसमेत परिरहेको छ।
मौसमविद्का अनुसार मनसुनको न्यूनचापीय रेखा नजिकिँदा सामान्यतया वर्षाको सम्भावना बढ्छ। त्यसमाथि आजदेखि अर्को पानी पार्ने प्रणाली (उत्तर प्रदेश आसपास बनेको न्यूनचापीय क्षेत्र) थपिएको हो।
जसका कारण यतिबेला (सोमबार बिहान ८ बजे) कोसी र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ भने मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बादल लागेको छ। अनि कोसी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम महाशाखाले बिहानी बुलेटिनमा उल्लेख गरेको छ।
मौसम महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। अनि हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यसैगरी आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। अनि कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
काठमाडौँमा मध्यम वर्षाको सम्भावना
देशका विभिन्न स्थानसँगै आज काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना छ।
मौसम महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौँ उपत्यकामा आज दिउँसोतिर वर्षा हुने सम्भावना छ।
‘त्यस्तै दिउँसो १/२ बजेपछि बादल बढ्दै गएर मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको छ’, उनले नेपालखबरसँग भने।
अहिले बिहान पनि काठमाडौँ उपत्यकाको आकाशमा बादल लागेको छ।
‘आज काठमाडौँ उपत्यकामा पनि दिनभर त्यस्तो छ्याङ्ग मौसम खुल्ने सम्भावना कमै छ’, मौसमविद् लामिछानेले भने, ‘एकछिन खुलेजस्तो भए पनि फेरि बादल लागिहाल्छ।’
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।