उच्च पहाड र हिमाली भेगमा वर्षा र हिमपात, केही स्थानमा भारी वर्षाको सम्भावना

उच्च पहाड र हिमाली भेगमा वर्षा र हिमपात, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं।  आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भू-भागका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

दिउँसोको मौसमी अवस्था:

दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भू-भागका केही स्थान तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपात हुन सक्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मधेश प्रदेशका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग, कर्णाली प्रदेशको पहाडी भू-भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिको मौसमी अवस्था:

राति पनि देशभर साधारणतया बदलीकै स्थिति रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना छ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। तराईतर्फ मधेश र कोशी प्रदेशका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

वर्षा, चट्याङ तथा हिमपातको जोखिम रहेका क्षेत्रहरूमा हुनसक्ने सम्भावित विपद्बाट बच्न र आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।

छुटाउनुभयो कि ?