धादिङको परेवाभिरमा सडक मर्मत जारी: पृथ्वी राजमार्ग आज दोस्रो दिन पनि १२ घण्टा बन्द

धादिङको परेवाभिरमा सडक मर्मत जारी: पृथ्वी राजमार्ग आज दोस्रो दिन पनि १२ घण्टा बन्द

काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडक खण्ड मर्मतका लागि आज दोस्रो दिन पनि पूर्ण रूपमा बन्द रहने भएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण क्षति पुगेको उक्त सडक खण्ड मर्मत गर्न जिल्ला प्रशासन कार्यालय धादिङले बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म (१२ घण्टा) सवारी आवागमन रोकेको हो।

बाढीका कारण सडक साँघुरो भई एकतर्फी मात्र सञ्चालन हुँदै आएकाले मर्मत कार्यलाई तीव्रता दिन सडक बन्द गर्नु परेको प्रशासनले जनाएको छ। शनिबार पनि सोही समयमा सडक बन्द गरी मर्मत गरिएको थियो, तर काम नसकिएपछि आज पनि निरन्तरता दिइएको हो।

सडक बन्द रहेको अवधिभर एम्बुलेन्स र शववाहनजस्ता अत्यावश्यक सवारीसाधन बाहेक अन्य सम्पूर्ण साना तथा ठूला सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले सडक बन्द हुँदा यात्रु तथा सवारीचालकहरूमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै सो अवधिमा वैकल्पिक मार्गको प्रयोग गरी यात्रा गर्न अनुरोध गरेको छ।

छुटाउनुभयो कि ?