देवानगञ्ज प्रकरण : घाइते यादवको शरीरबाट गोली निकालियो

देवानगञ्ज प्रकरण : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी ।  देवानगञ्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी गोली निकालिएको छ ।

देवानगञ्ज गाउँपालिका-१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार साँझ गोली प्रहारबाट घाइते यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

उनको शल्यक्रिया गरी आइतबार गोली निकालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताए । यादवको कम्मरमुनिको दायाँ तिघ्रामा गोली लागेको छ ।

हरिनगर बजारबाट मोटरसाइकलमा घर फर्किने क्रममा लक्ष्मीनारायण मन्दिर अगाडि  उनीमाथि गोली प्रहार भएको थियो । घटनापछि प्रहरीले देवानञ्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय जयकृष्ण यादवलाई पक्राउ गरेको थियो । 

उक्त घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको सूचना अधिकारी खड्काले बताए। युवतीको विषयलाई लिएर युवाहरूबीच भएको विवादबाट उत्पन्न वैमनस्यताका कारण घटना भएको खुलेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

छुटाउनुभयो कि ?