काठमाडौंसहित देशभर बदलीसँगै वर्षाको सम्भावना

काठमाडौंसहित देशभर बदलीसँगै वर्षाको सम्भावना

काठमाडौं।  हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ।

यतिबेला लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली (बादल) रहेको छ भने बाँकी तराई भूभागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूका साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

 दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

तराईका पनि एक-दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

रातिको समयमा पनि हिमाली र पहाडी भूभागमा साधारणतया बदली नै रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका पनि एक-दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

छुटाउनुभयो कि ?