काठमाडौं। असोज २ गते शुक्रबारदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको बहुप्रतीक्षित चलचित्र ‘झिङ्गेदाऊ २’ ले प्रदर्शनको दोस्रो दिन शनिबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ।
शनिबार बिदाको दिन परेकाले काठमाडौँ उपत्यकालगायत देशका मुख्य शहरका विभिन्न हलहरूमा चलचित्र हेर्न दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ। बिहानी शोदेखि नै हलहरूमा दर्शकको चाप बढेको र चलचित्रप्रति उनीहरूको उत्साह लोभलाग्दो रहेको हल सञ्चालकहरूले जनाएका छन्।
प्रदर्शनको पहिलो दिनदेखि नै सकारात्मक प्रतिक्रिया (वर्ड अफ माउथ) पाएको ‘झिङ्गेदाऊ २’ ले दोस्रो दिन पनि हलसम्म दर्शक तान्न सफल भएको छ। हलमा चलचित्र हेरेर निस्किएका दर्शकहरूले यसको पारिवारिक कथावस्तु, कलाकारहरूको जीवन्त अभिनय र निर्देशकको प्रस्तुतिको उच्च प्रशंसा गरेका छन्।
सुरुवाती दुई दिनमै दर्शकको तर्फबाट पाएको माया र उत्साहजनक उपस्थितिले चलचित्रको निर्माण पक्षसमेत निकै उत्साहित बनेको छ। पहिलो र दोस्रो दिनको सकारात्मक प्रतिक्रियाले आगामी दिनहरूमा पनि चलचित्रको व्यापार थप बलियो र आक्रामक हुने अपेक्षा निर्माण पक्षले लिएको छ।