अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच भेटवार्ता, लगानी र ऊर्जा सहकार्यमा छलफल

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच भेटवार्ता, लगानी र ऊर्जा सहकार्यमा छलफल

नयाँदिल्ली। भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करबीच नयाँदिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ। भ्रमणको दोस्रो दिन भएको उक्त भेटमा दुई देशबीचको न्यानो, बलियो र भरपर्दो सम्बन्धका आधारमा आर्थिक सहकार्य, विकास तथा समुन्नतिबारे विस्तृत विचार-विमर्श भएको छ।

नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार भेटका क्रममा अर्थमन्त्री डा. वाग्लेले रसुवामा भर्खरै गएको आकस्मिक बाढीपछिको उद्धार तथा राहत कार्यमा पुर्‍याएको सहयोगका लागि भारत सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गरे।

भेटवार्तामा नेपाल-भारतबीचको दीर्घकालीन कूटनीतिक मित्रतालाई अझ प्रगाढ बनाउँदै विशेष गरी वैदेशिक लगानी, ऊर्जा विकास र पूर्वाधार कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई मजबुत बनाउने विविध उपायहरूबारे गहन छलफल भएको थियो।

यसअघि अर्थमन्त्री डा. वाग्लेले शुक्रबार भारतीय उच्च कूटनीतिज्ञहरूसँग छुट्टै छलफल गरेका थिए। भ्रमणको पहिलो दिन उनले आफ्ना भारतीय समकक्षी अर्थमन्त्री निर्मला सीतारमणसँग शिष्टाचार भेट गरेका थिए, जहाँ दुई देशबीचको आर्थिक हित र व्यापारिक सहकार्यका विषयमा छलफल भएको थियो।

छुटाउनुभयो कि ?