गणेशमान सिंहको २९औँ स्मृति दिवस आज मनाइँदै

गणेशमान सिंहको २९औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं।  विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन्।

नेपाली राजनीतिमा त्याग र साहसको अद्वितीय उदाहरण प्रस्तुत गरेका सिंहले जनआन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहलाई अस्वीकार गर्दै समकक्षी कृष्णप्रसाद भट्टराईको नाम प्रस्ताव गरेका थिए।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मेका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो। उनले प्रजा परिषद्को सदस्य बनेर राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय रूपमा अगाडि बढाएका थिए।

विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका उनले भारत पुगेर अर्का जननेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध स्थापित गरे। उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसको नेतृत्वसमेत सम्हालेका थिए। प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्षको नेतृत्व गरे।

विसं २०१५ को पहिलो आमनिर्वाचनपछि गठित सरकारमा वरिष्ठ मन्त्री बनेका उनी २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा थुनिए। विसं २०२५ मा बिपीसँगै सुन्दरीजलबाट रिहा भएपछि उनले प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे। विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि उनी निरन्तर पञ्चायती व्यवस्थाविरूद्धको आन्दोलनमा सक्रिय रहे।

छुटाउनुभयो कि ?