भक्तपुर। लोपोन्मुख अवस्थामा पुगेको ऐतिहासिक जात्रा र परम्परालाई जीवन्त राख्न मध्यपुरथिमि-४ बालकुमारीका ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्ने भएका छन्। उनले आगामी असोज १० गते शनिबार (येँया पुन्हिःका दिन) पाँचौँपटक जिब्रो छेडेर यो परम्परालाई निरन्तरता दिन लागेका हुन्।
विगतमा आर्थिक अभावका कारण नियमित हुन नसकेको यो जात्रा वि.सं. २०७४ मा वीरेन्द्रभक्तकै अगुवाइमा पुनः सुरु भएको थियो। त्यसयता उनले २०७९, २०८१ र २०८२ मा जिब्रो छेडिसकेका छन्।
बीचमा २०७५ सालमा बालकराम श्रेष्ठले एकपटक जिब्रो छेडाएका थिए भने कोरोना महामारीपछि २०७९ देखि पुनः वीरेन्द्रभक्तले नै यसको बागडोर सम्हालेका हुन्। त्यसअघि कृष्ण नानिचा श्रेष्ठले २०५२, २०५७ र २०६३ मा जिब्रो छेडाएको इतिहास छ।
सञ्चालनका लागि करिब छ लाख रुपैयाँभन्दा बढी खर्च हुने यस जात्रामा नगरपालिकाले गर्ने सहयोगभन्दा बढी रकम जिब्रो छेड्ने व्यक्ति र स्थानीयले व्यहोर्दै आएका छन्।
मध्यपुरथिमिको दिगुभैरव मन्दिरको डबलीमा हजारौँ सर्वसाधारणका अगाडि भाद्र शुक्ल पूर्णिमाको साँझ तेलमा डुबाइएको करिब एक फिट लामो फलामको सियोले जिब्रो छेडेर जात्रा सुरु गरिन्छ। जिब्रो छेड्ने व्यक्ति आफ्नो इच्छाअनुसार पशुपतिनाथ मन्दिरसम्म पुग्ने र पुनः बालकुमारी मन्दिर फर्किएर सियो निकाल्ने परम्परा छ।
प्राचीनकालमा थिमिमा भूतप्रेत र पिशाचको आतंक नियन्त्रण गर्न एक जनाको जिब्रो छेडी नगर परिक्रमा गराइएको र त्यसपछि शान्ति स्थापना भएको किंवदन्ती छ। यो जात्रा मनाएपछि नगरमा रोग, अनिकाल तथा प्राकृतिक विपत्तिबाट जोगिने जनविश्वास रहँदै आएको छ।