रुससँगको युद्धका बीच युक्रेनद्वारा सन् २०२७ का लागि १०९ अर्ब डलरको कीर्तिमानी रक्षा बजेट प्रस्ताव

रुससँगको युद्धका बीच युक्रेनद्वारा सन् २०२७ का लागि १०९ अर्ब डलरको कीर्तिमानी रक्षा बजेट प्रस्ताव

कीभ। रुससँगको युद्ध जारी रहेकै समयमा युक्रेनले सन् २०२७ का लागि रक्षा तथा सुरक्षा क्षेत्रमा कीर्तिमानी बजेट विनियोजन गर्ने योजना बनाएको छ। सरकारी दस्तावेज अनुसार युक्रेनले ४.९ ट्रिलियन हरिभनिया (करिब १०९ अर्ब अमेरिकी डलर) खर्च गर्ने लक्ष्य राखेको छ, जुन उसको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ४४ प्रतिशत हो। सन् २०२२ मा रुसले आक्रमण सुरु गरेयताकै यो सबैभन्दा ठूलो रक्षा बजेट हो।

युद्धका कारण अर्थतन्त्रमा तीव्र दबाब झेलिरहेको युक्रेनले वित्तीय अभाव पूर्ति गर्न आगामी वर्ष अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैंकलगायतका निकायहरूबाट थप ५३ अर्ब डलर विदेशी सहायता जुटाउने प्रयास गर्ने जनाएको छ।

युक्रेनका अर्थमन्त्री सर्गी मार्चेन्कोले रुसी आक्रमणको सामना गर्न सुरक्षा तथा रक्षासम्बन्धी आवश्यकता सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट पारेका छन्। राज्यका सबै आन्तरिक स्रोतहरू परिचालन गरेर आक्रमणकारीको प्रभावकारी रूपमा सामना गरिने उनको भनाइ छ।

प्रस्तावित बजेटमध्ये करिब एक तिहाइ रकम सैनिकको तलबमा र बाँकी रकम हतियार तथा सैन्य उपकरण खरिदमा प्रयोग गरिनेछ। अर्कातर्फ, रुसले पनि सन् २०२७ मा रक्षा क्षेत्रमा करिब १३.६ ट्रिलियन रुबल (करिब १६१ अर्ब डलर) खर्च गर्ने योजना बनाएको छ, जुन उसको कुल बजेटको करिब ३० प्रतिशत हो।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विदेशी लगानी आकर्षित गर्न र रक्षा आवश्यकता पूरा गर्न संसद्ले विदेशी पार्सलमा कर लगाउने जस्ता केही अलोकप्रिय निर्णयहरू पारित गर्नुपर्ने बताएका छन्। सन् २०२२ यता युक्रेनले विदेशी साझेदारहरूबाट वित्तीय सहयोगस्वरूप करिब २०० अर्ब डलर र अर्बौँ डलर बराबरको सैन्य सहायता प्राप्त गरिसकेको छ।

छुटाउनुभयो कि ?