काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दशैंका लागि खसीबोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको छ ।
सरकारी स्वामित्वको खाद्य कम्पनीले हरेक वर्ष दशैं चाडपर्वमा सर्वसाधारणलाई सहुलियत मूल्यमा खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै आएको थियो । तर, यस वर्ष बजेट अभावका कारण खसीबोका खरिद र बिक्री नगर्ने निर्णय गरिएको हो ।
कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार यस वर्ष खसीबोका खरिदका लागि बजेट नै विनियोजन गरिएको छैन । बजेट नै नभएपछि खसीबोका खरिद प्रक्रिया अघि नबढाइएको उनले जानकारी दिए । ‘अघिल्ला वर्षहरूको दशैंका लागि खाद्यले सुपथ मूल्यमा आफै खसीबोका बिक्री गर्दै आएको थियो । यस वर्ष भने बिक्री नगर्ने निर्णय भएको छ । यस शीर्षकमा यो वर्ष बजेट नै विनियोजन गरिएको छैन’, मिश्रले भने ।
खाद्य कम्पनीले बजार मूल्यलाई नियन्त्रण र सन्तुलनमा राख्न हरेक वर्ष दशैंको समयमा उपत्यकामा सहुलियत दरमा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको थियो । यस वर्ष भने कम्पनीबाट सहुलियतको खसीबोका नपाइने भएको छ ।
यसपालीको चाडपर्व लक्षित गरेर खाद्यले सुपथ मूल्यको पसल मात्रै सञ्चालनमा ल्याएको छ ।कम्पनीले भदौ २८ गतेदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गरेको छ । ४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो ।
सूचना अधिकारी मिश्रका अनुसार सुपथ मूल्य पसलबाट कम्पनीले चामल, दाल, तेल, चिनी र नुनसहित स्थानीय बाली चिनो, कागुनो, फापर, सिमीलगायत खाद्यवस्तु बिक्री गर्दै आएको छ ।
सुपथ मूल्य पसलमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुमा पाँच रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।