काठमाडौं। सरकारले निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्दै सेयर बजारमा लाग्ने अग्रिम करको दरमा उल्लेख्य कटौती गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले प्राकृतिक व्यक्तिले ३६५ दिनभन्दा बढी अवधि स्वामित्व राखेको सेयर लाभमा ३.५ प्रतिशत र सोभन्दा कम अवधि स्वामित्व राखेको लाभमा ५ प्रतिशत मात्र अग्रिम कर लाग्ने नयाँ व्यवस्था गरिएको जानकारी दिनुभयो। यसअघि यी करका दरहरू क्रमशः ७.५ प्रतिशत र १० प्रतिशत रहेका थिए।
बैठकले न्याय सेवाका ठगेन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहालका साथै प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई विशिष्ट श्रेणी (सचिव) पदमा बढुवा गर्ने निर्णय गरेको छ।
यसै गरी भूमि व्यवस्था मन्त्रालयको प्रस्तावमा चक्रीय राहत कोष सञ्चालन कार्यविधि, २०८३ स्वीकृत गरिएको छ भने साउदी अरेबियामा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा क्षतिपूर्ति प्रक्रियाका लागि त्यहाँका कानुन व्यवसायीलाई वारिसनामा दिनेसम्बन्धी आदेश जारी गरिएको छ।
विपद् व्यवस्थापनतर्फ सरकारले बाढीका कारण होल्डिङ सेन्टरमा रहेका पीडितहरूलाई अस्थायी आवासमा स्थानान्तरण गर्ने र घरजग्गा पूर्ण रूपमा क्षति भएकाहरूका लागि नयाँ ठाउँमा जग्गाको खोजी सुरु गरेको छ। बाढी प्रभावितहरूका लागि स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार सेवा प्रदान गरिरहेको छ।
विशेषगरी नुवाकोट र रसुवामा बाढीका कारण आमाबाबु गुमाएका बालबालिकाहरूको विवरण सङ्कलन गरी उनीहरूलाई पूर्ण छात्रवृत्तिसहित आवासीय शिक्षाको व्यवस्था शिक्षा मन्त्रालयले गर्ने भएको छ। महिला तथा बालबालिका मन्त्रालयले पनि यस्ता बालबालिकाको संरक्षणको जिम्मेवारी लिने प्रक्रिया अघि बढाएको छ।
क्षतिग्रस्त विद्यालयका विद्यार्थीको पठनपाठन नरोकिओस् भन्नका लागि अस्थायी सिकाइ केन्द्र सञ्चालनमा ल्याइएको छ भने आवश्यकताअनुसार विद्यार्थीहरूलाई नजिकैका वा काठमाडौंका संस्थागत विद्यालयमा स्थानान्तरण गर्न विवरण सङ्कलन भइरहेको छ।