विपद् व्यवस्थापनका लागि विज्ञ र दलहरूसँग परामर्श गर्न प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव

विपद् व्यवस्थापनका लागि विज्ञ र दलहरूसँग परामर्श गर्न प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधव कुमार नेपालले विपद् व्यवस्थापन र राहतका लागि प्रधानमन्त्री आफैँ अग्रसर भएर दलहरू तथा विज्ञहरूसँग छलफल गर्नुपर्ने बताएका छन्।

बुधबार सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको कार्यालयमा आयोजित सर्वदलीय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्रीको व्यस्तताका बाबजुद यस्ता गम्भीर मामिलामा स्वयं बैठक डाकेर निर्णयमा पुग्नुपर्ने सुझाव दिए।

मानिसले अनुभवबाटै सिक्ने र परिपक्व हुने उल्लेख गर्दै उनले सरकार र नेतृत्वले आगामी दिनमा थप परिपक्व ढङ्गले काम गर्नुपर्ने बताए। विशेषगरी भोटेकोशी बाढी र त्यसपछिको अवस्थालाई ध्यानमा राख्दै सरकारको प्राथमिक ध्यान खोज, उद्धार, उपचार, राहत र पुनःस्थापनामै केन्द्रित हुनुपर्नेमा उनको जोड थियो।

उनका अनुसार बैठकमा रास्वपा सभापति रवि लामिछानेको पहलमा गठित सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने र छुटेका अन्य दलहरूलाई पनि यसमा समेट्ने सहमति भएको छ।

यसैगरी जलवायु परिवर्तन र विपद्को विषयमा गम्भीर छलफल, अनुगमन र सरकारलाई आवश्यक सुझाव दिनका लागि एक हप्ताभित्र संसद्भित्र विशेष समिति गठन गर्न सभामुखलाई आग्रह गर्ने निर्णयसमेत गरिएको छ।

करिब आठ दलका नेताहरू सहभागी उक्त बैठकमा नेता नेपालले आफ्नो प्रधानमन्त्रीत्वकालमा सन् २००९ डिसेम्बर ४ मा सगरमाथाको आधार शिविरमा बसेको ऐतिहासिक मन्त्रिपरिषद् बैठक र ‘सगरमाथा घोषणापत्र’को स्मरण गराए।

कोपेनहेगनमा सम्पन्न कोप-१५ सम्मेलनमार्फत हिमाली क्षेत्रमा परेको असरबारे विश्वको ध्यान आकर्षित गराएको चर्चा गर्दै उहाँले अब अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनको क्षतिपूर्तिको मुद्दालाई नेपालले थप प्रभावकारी रूपमा उठाउनुपर्ने बताए।