आज देशभर मनसुनी वायुको प्रभाव, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज देशभर मनसुनी वायुको प्रभाव, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ।

यतिबेला कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली हुनुका साथै बाँकी पहाडी भूभागमा आंशिक बदली रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने मौसम मुख्यतया सफा छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थानका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थान र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि मध्यम वर्षाको आकलन गरिएको छ।

विशेष गरी कोशी प्रदेशका हिमाली, पहाडी र तराईका भूभागका साथै बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर साधारणतया बदली नै रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान र लुम्बिनी तथा सुदूरपश्चिमका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित वर्षा हुन सक्ने पूर्वानुमान छ।