अमेरिका। अमेरिकाको बोस्टनस्थित एक सङ्घीय अदालतले विदेशी विद्यार्थी, एक्सचेन्ज भिजिटर र पत्रकारहरूको भिसा अवधि सीमित गर्ने ट्रम्प प्रशासनको नयाँ नियम कार्यान्वयनमा रोक लगाइदिएको छ। डिपार्टमेन्ट अफ होमल्यान्ड सिक्युरिटी (डीएचएस) को उक्त नियम लागू हुनुभन्दा ठीक एक दिनअघि अमेरिकी जिल्ला न्यायाधीश एफ. डेनिस सेलोरले युनियन तथा उच्च शिक्षासम्बन्धी संघ-संस्थाहरूको गठबन्धनको पक्षमा फैसला सुनाएका हुन्।
न्यायाधीश सेलोरका अनुसार डीएचएसले भिसा प्रणालीमा हुने धाँधली रोक्न र राष्ट्रिय सुरक्षाको हवाला दिए पनि नियम परिवर्तन गर्दा उत्पन्न हुने समस्याहरूलाई सही तरिकाले मूल्याङ्कन गर्न सकेको छैन। साथै, विभागले अन्य सरल विकल्पहरूमाथि विचारै नगरी कमजोर तर्कका आधारमा करिब पाँच दशक पुरानो व्यवस्थालाई उल्टाउन खोजेको अदालतको ठहर छ।
पूर्वराष्ट्रपति जोर्ज डब्ल्यु बुसद्वारा नियुक्त न्यायाधीश सेलोरले यो फैसलाले करोडौँ विद्यार्थी र अनुसन्धानकर्ताहरूमार्फत विज्ञान, चिकित्सा र प्रविधिमा भएको प्रगति एवं अमेरिकी अर्थतन्त्रमा पुगेको योगदानलाई जोगाएको उल्लेख गरे। साबिकको व्यवस्था अनुसार विदेशी विद्यार्थीहरू आफ्नो अध्ययनको पूरै अवधिभर अमेरिकामा रहन र काम गर्न पाउँछन्।
गत जुलाईमा डीएचएसले ल्याएको नयाँ प्रस्तावमा विदेशी विद्यार्थीहरूको ‘एफ’ भिसा र सांस्कृतिक एक्सचेन्ज भिजिटरको ‘जे’ भिसाको समयावधि अधिकतम चार वर्षमा सीमित गर्ने प्रावधान थियो। त्यसै गरी, लामो समय मान्य हुने विदेशी पत्रकारहरूको ‘आई’ भिसालाई घटाएर केवल २४० दिनमा सीमित गर्ने तयारी गरिएको थियो।
हाल करिब १६ लाख मानिससँग ‘एफ’ भिसा र ५ लाख मानिससँग ‘जे’ भिसा रहेको छ। नयाँ नीति कार्यान्वयनमा आए एमआईटी र हार्भर्डजस्ता प्रमुख अनुसन्धान विश्वविद्यालयहरूमा भर्नादर घट्ने र यसले अमेरिकी उच्च शिक्षा प्रणाली तथा अर्थतन्त्रमा विनाशकारी असर पुग्ने चेतावनी न्यायाधीशले दिएका छन्।