काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीविरुद्ध प्रतिनिधि सभामा दिएको अभिव्यक्तिको अंश संसदीय अभिलेखबाट हटाइएको छ।
सभामुख डोलप्रसाद अर्यालले मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा गत भदौ २६ गतेको बैठकमा सांसद सुनारले प्रयोग गरेको विवादित शब्दावली हटाउन संसद् सचिवालयलाई औपचारिक निर्देशन दिएका हुन्।
सांसद सुनारले भदौ २६ गतेको बैठकमा बोल्दै आईजीपी कार्कीमाथि करोडौँ रुपैयाँको भ्रष्टाचार गरेको गम्भीर आरोप लगाएका थिए। सोही क्रममा उनले आईजीपी कार्कीलाई तत्काल बर्खास्त गर्न सरकारको ध्यानाकर्षण समेत गराएका थिए।
प्रतिनिधि सभा बैठकमा निर्देश जारी गर्दै सभामुख अर्यालले भने, “माननीय खगेन्द्र सुनारले मिति २०८३ भदौ २६ गतेको बैठकमा ‘कहिल्यै पनि’ भन्ने वाक्यांशदेखि ‘आरोप गम्भीर हुन्छ’ भन्ने वाक्यांशको बिचको शब्दावली सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।”