आइसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिएकोमा सांसद बाँस्कोटाको आपत्ति

आइसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिएकोमा सांसद बाँस्कोटाको आपत्ति

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बाँस्कोटाले अस्पतालको अति संवेदनशील कक्ष (आइसीयू) मा उपचार गराइरहेका बिरामीको अन्तर्वार्ता लिने तथा त्यसका लागि अनुमति दिने कार्यप्रति तीव्र आपत्ति जनाएकी छन्।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद बाँस्कोटाले उपचार कक्षमा रहेका बिरामीको स्वास्थ्य सुरक्षा, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।

अस्पतालको उपचार कक्ष अत्यन्त संवेदनशील र जटिल अवस्थाका बिरामीका लागि छुट्याइएको विशेष स्थान भएको उल्लेख गर्दै उनले भनिन्, “बिरामीका परिवारका सदस्यलाई समेत निश्चित समय र कडा स्वास्थ्य मापदण्ड पालना गरेर मात्र भेट्न दिइन्छ। तर, दुई दिनअघि सार्वजनिक भएको एउटा अन्तर्वार्ताले यस्तो संवेदनशीलतालाई नै उदाङ्गो पारिदिएको छ।”

उद्धारपछि अस्पताल पुर्‍याइएका बिरामीको पहिलो हक शीघ्र र प्रभावकारी उपचार पाउनु भए पनि सञ्चारमाध्यम तथा युट्युबरहरूले तत्कालै प्रश्न-उत्तर सुरु गर्ने प्रवृत्तिप्रति उनले चिन्ता व्यक्त गरिन्। आइसीयूभित्रै छिरेर बिरामीको अन्तर्वार्ता लिनु कतिसम्म नैतिक र चिकित्सकीय रूपमा उचित हो भन्दै उनले अस्पताल प्रशासन र सञ्चारकर्मीको भूमिकामाथि गम्भीर प्रश्न उठाएकी छन्।

भोटेकोशी बाढीका क्रममा जलविद्युत् आयोजनाको सुरुङमा फसेर उद्धार गरिएका दुई घाइते बिरामीसँग अस्पतालको उपचार कक्षमै पुगेर युट्युबर सुरज सिंह ठकुरीले अन्तर्वार्ता लिएका थिए। सोही घटनालाई लिएर सांसद बाँस्कोटाले संसद्‌मार्फत सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएकी हुन्।