विपद्‍मा सबै दल सरकारकै साथमा छन्, उच्चस्तरीय समिति गठनमा ढिलाइ नगरौँ : आङ्देम्बे

विपद्‍मा सबै दल सरकारकै साथमा छन्, उच्चस्तरीय समिति गठनमा ढिलाइ नगरौँ : आङ्देम्बे

काठमाडौँ ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्याललाई भेटेर बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गराएका छन् ।

सभामुख अर्यालसँग मंगलबार भेटमा उनले भेटमा बाढीपछि उद्धार, राहत र पुनःस्थापनबारे उच्चस्तरीय संसदीय समिति गठनलगायतबारे सभामुखको ध्यानाकर्षण गराएका हुन् ।आङ्देम्बेले सभामुखलाई नेपाली कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिकाबारे पनि जानकारी गराए। आगामी ३ र ४ गते वडा, १० गते प्रदेश र क्षेत्र तथा १६ देखि १९ गतेसम्म केन्द्रीय अधिवेशन हुने उनले बताए। 

यसैगरी, संसदीय समितिको मागबारे पत्रकारको प्रश्नमा उनले सभामुख सकारात्मक रहेको जवाफ दिए। ‘यो त स्वयं सत्तापक्षका सभापतिले राखेको प्रस्ताव हो,’ उनले भने, ‘यसमा सबै प्रतिपक्षी दलको एकमत छ।’ विपद्को घडीमा पक्ष र प्रतिपक्ष नभनी सबै दल सरकारको साथमा रहेको उनले प्रस्ट पारे। संसदीय समिति संसद्कै आधिकारिक संस्था भएकाले यसलाई सरकारले विपक्षीका रूपमा हेर्न नहुने उनको तर्क छ।