काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (शैक्षिक परामर्श, प्रमाणीकरण तथा छात्रवृत्ति शाखा) ले शैक्षिक परामर्श सेवा, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालनका लागि नयाँ संस्था दर्ता तथा अनुमति प्रक्रिया खुला गरेको छ।
मन्त्रालयले 'शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३' बमोजिम अनुमति लिन इच्छुक संस्थाहरूबाट अनलाइन आवेदन आह्वान गरेको हो।
मन्त्रालयद्वारा प्रकाशित सूचनाअनुसार प्रदेश सरकार वा स्थानीय तहबाट अनुमति पाएका संस्थाहरूले २०८३ असोज २५ गतेभित्र र अन्य नयाँ संस्थाहरूले सूचना प्रकाशित भएको मिति (२०८३/०५/३०) ले ३५ दिनभित्र अनलाइनमार्फत आवेदन दिइसक्नुपर्नेछ। आवेदन मन्त्रालयको आधिकारिक वेब पोर्टल (cims.moest.gov.np) मार्फत दिनुपर्ने व्यवस्था गरिएको छ।
आवश्यक कागजात तथा योग्यता:
-
सामान्य कागजात: नियमावलीको अनुसूचीबमोजिमको ढाँचामा आवेदन, कम्पनी दर्ता प्रमाणपत्र, भ्याट/प्यान प्रमाणपत्र, आ.व. २०८२/०८३ सम्मको कम्पनी अद्यावधिक प्रमाणपत्र र करचुक्ता प्रमाण।
-
जनशक्ति योग्यता: शैक्षिक परामर्श सेवाका लागि स्नातक उत्तीर्ण गरी तालिमप्राप्त जनशक्तिको नियुक्ति पत्र र भाषा शिक्षणका लागि स्नातक उत्तीर्ण भई सम्बन्धित भाषामा योग्यता पुगेको प्रमाणपत्र आवश्यक पर्नेछ।
-
भाषा परीक्षाको हकमा: सम्बन्धित भाषा परीक्षाको अधिकारप्राप्त निकायको अनुमतिपत्र, कुटनीतिक निकायको सिफारिस तथा प्रशिक्षकको योग्यता र तालिमसम्बन्धी प्रमाणपत्र पेश गर्नुपर्नेछ।
मन्त्रालयमा निर्णय पर्खाइमा रहेका र प्रदेश/स्थानीय तहबाट अनुमति पाएका संस्थाको हकमा
यसअघि २०७४ माघ १७ देखि २०७५ साउन १४ सम्म मन्त्रालयमा आवेदन दिएर निर्णयको पर्खाइमा रहेका संस्थाहरूले पोर्टलमा 'Waiting for Decision' मा छनोट गरी साविकमा मन्त्रालयले दिएको स्लिप र बैंक भौचर अपलोड गर्नुपर्नेछ। यस्ता संस्थाहरूलाई थप आवेदन दस्तुर लाग्ने छैन।
त्यसैगरी, प्रदेश वा स्थानीय तहबाट २०८३ असार २५ गतेअगावै अनुमति वा स्वीकृति पाएका संस्थाहरूले पोर्टलमा 'Province Approval' मा छनोट गरी आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।
आवेदन दस्तुर र अन्य व्यवस्था:
नयाँ आवेदकहरूका लागि आवेदन दस्तुर रु. ५,०००/– (पाँच हजार) तोकिएको छ। दस्तुर रकम पोर्टलबाटै भौचर सिर्जना गरी कनेक्ट आईपीएस, खल्ती, ईसेवा वा अन्य अनलाइन प्रणालीमार्फत आन्तरिक राजस्व (Inland Revenue) को 'EBP Number' प्रविष्ट गरी भुक्तानी गर्नुपर्नेछ। नगद वा अन्य विधिबाट गरिएको भुक्तानी मान्य हुने छैन।
यस प्रकार पहिलोपटक अनुमति माग्ने संस्थाहरूले शाखा कार्यालयको माग गर्न पाउने छैनन्। साथै, मन्त्रालयको निर्णय पर्खाइमा रहेका र प्रदेश तथा स्थानीय तहबाट स्वीकृति पाएका संस्थाहरूको नाम परिवर्तन गर्न पाइने छैन। आवेदन दर्तासम्बन्धी कुनै समस्या भएमा मन्त्रालयको फोन नम्बर ०१-६६३०९०७ मा वा सानोठिमीस्थित शाखामा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।