कृष्णभीरमा नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा: असोज १ देखि नियमित यातायात सञ्चालन गर्ने तयारी

कृष्णभीरमा नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा: असोज १ देखि नियमित यातायात सञ्चालन गर्ने तयारी

चितवन।  पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएपछि थालिएको नयाँ ट्र्याक निर्माणको काम अन्तिम चरणमा पुगेको छ। आइतबार भित्तातर्फ कटिङ र सडक सम्याउने काम सकेर केही सवारीसाधन परीक्षणका रूपमा चलाइएको थियो। परीक्षण सफल भएपछि अहिले नियमित यातायात सञ्चालनका लागि कामलाई तीव्रता दिइएको छ।

नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार आज ११ औँ दिनमा ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ। थप पहिरो नआएमा असोज १ गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। निर्माणका लागि ४० देखि ५० जना मजदुरका साथै ग्रेडर, रोलर र एक्साभेटरसहित ५–६ वटा हेभी इक्युपमेन्ट प्रयोग भइरहेका छन्।

करिब ३०० मिटर लामो नयाँ ट्र्याकमा सात मिटर चौडाइको सडक र नालीसहित साढे सात मिटरको संरचना तयार पारिएको छ। हाल नदीको गेग्रान प्रयोग गरी ग्राभेलिङ र सडकको कुनामा ड्रेन निर्माण गरी पाइप राख्ने काम भइरहेको छ। सब-बेसको अन्तिम तह निर्माण सकिएपछि सडक गाडी चलाउन योग्य हुनेछ।

नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले आइतबार नयाँ ट्र्याकको ग्रेडिङ सकेर फिनिसिङ भइरहेको बताए। आइतबार परीक्षणका लागि मात्र केही गाडी पास गराइएको स्पष्ट पार्दै उनले हाल नयाँ ट्र्याक पूर्ण रूपमा बन्द रहेको जानकारी दिए। नयाँ ट्र्याक खुलिसकेको भ्रममा नपर्न आग्रह गर्दै उहाँले थप समस्या नआए असोज १ गतेदेखि नियमित रूपमा सवारीसाधन सञ्चालन गरिने बताए।