काठमाडाैं। नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा प्रतिवेदनबारे सहमति जुट्न सकेन।
काभ्रेको बल्थलीमा दुई दिन बसेको बैठकमा सहमतिका लागि प्रयास भएको थियो। तर, दुवै प्रतिवेदनमा सहमति जुट्न नसकेको एमाले सचिव महेश बस्नेतले बताए।
एमाले पुनर्गठनका लागि कार्यदलका सदस्य सचिव शंकर पोखरेलले प्रतिवेदन लेखेका थिए। जसमा उनले अध्यक्ष केपी शर्मा ओलीलाई मार्गप्रशस्त गर्नुपर्ने उल्लेख गरिएको थियो।
त्यसमा अध्यक्ष ओलीको चित्त नबुझेपछि कार्यदलका संयोजक रामबादुर थापा ‘बादल’लाई अर्को प्रतिवेदन लेख्न लगाएका थिए। त्यसपछि बादल र पोखरेलको प्रतिवेदन बैठकमा प्रस्तुत भएको थियो।
बैठकले दुवै प्रतिवेदन मिलाएर एउटै बनाउने निर्णय गरेको थियो। त्यसका लागि बल्थलीमा आवासीय बैठक बसेको हो। तर, बल्थली बैठकमा पनि सहमति जुट्न सकेन।
बल्थली बैठकले दुवै प्रतिवेदनलाई एउटै बनाएर ल्याउन कार्यदलका संयोजक बादल, सदस्य विष्णुप्रसाद पौडेल र सदस्य सचिव पोखरेललाई जिम्मा दिएको सचिव बस्नेतले जानकारी दिए।