पशुपतिनाथमा बिहानैदेखि व्रतालुको घुइँचो, तीन बजेदेखि नै चारै ढोका खुला

पशुपतिनाथमा बिहानैदेखि व्रतालुको घुइँचो, तीन बजेदेखि नै चारै ढोका खुला

काठमाडौं।  हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा आराध्यदेव भगवान् शिवको दर्शन गर्न बिहानैदेखि व्रतालु महिलाको घुइँचो लागेको छ। हरितालिका व्रत बसेका भक्तजनको सहजताका लागि आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार दर्शनार्थीलाई सहजरुपमा दर्शन गराउन चारवटा छुट्टाछुट्टै दर्शन मार्गको व्यवस्था मिलाइएको छ। मित्रपार्क, उमाकुण्ड, दक्षिणामूर्ति र कैलाश बद्रीनरसिंह भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट मन्दिर प्रवेश गरी दर्शन गरेर पश्चिम ढोकाबाट बाहिरिने पहिलो लाइनको प्रबन्ध गरिएको छ।

त्यस्तै जयवागेश्वरी, दथुटोल, पाचा गणेश, अन्नपूर्णभण्डार हुँदै आकासे पुल प्रयोग गरी शङ्कराचार्य मठ र सानो ढोकाबाट पश्चिमतर्फको काठको र्याम्पमार्फत दर्शन गराएर पश्चिम ढोकाबाटै बाहिरिने दोस्रो लाइन बनाइएको छ। सिनामङ्गल र एयरपोर्टतर्फबाट आउनेका लागि तिलगङ्गा पर्यटन काउन्टर, राम मन्दिर, वाग्मती किनार, आर्यघाटको पुल र पूर्वढोकाको र्याम्पबाट पूर्व मुहारको दर्शन गरी सोही ढोकाबाट फर्कने तेस्रो मार्ग तोकिएको छ।

चौथो लाइन पिङ्गलास्थानतर्फबाट आउने भक्तजनका लागि चार शिवालय, पञ्चदेवल वृद्धाश्रम दक्षिणको अस्थायी आकासे पुल र चौँसट्ठी कोटीलिङ्गेश्वर हुँदै दक्षिण मुहारको दर्शनपछि उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट बाहिरिने प्रबन्ध छ।

भदौरे झरीका बावजुद भक्तजनहरू उत्साहपूर्वक लाममा बसेर दर्शन गरिरहेका छन्। बिहानको समयमा लाममा बसेको करिब आधा घण्टामै व्रतालुहरूले दर्शन गरेर फर्कन सक्ने वातावरण बनेको छ। तीजलाई सुरक्षित र व्यवस्थित बनाउन पशुपति क्षेत्रमा चार हजार सुरक्षाकर्मीका साथै २४ वटा धार्मिक तथा सामाजिक संस्थाका ८५५ जना स्वयंसेवक खटाइएको छ। सानो सदावर्त सत्तल, तिलगङ्गा, उमाकुण्ड, जयवागेश्वरी र गौशालामा चन्दन वितरणको व्यवस्था गरिएको छ।

पशुपतिनाथका साथै राजधानीका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित मक्खन महादेव, भक्तपुरको डोलेश्वर र त्रिपुरेश्वरसहित देशभरका अन्य शिवालयहरूमा पनि बिहानैदेखि पूजा-आराधना गर्ने भक्तजनको ठूलो उपस्थिति रहेको छ।