काठमाडाैं। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा निर्माण भइरहेको नयाँ ट्र्याकमा आजदेखि ग्राभेल बिछ्याउने काम सुरु गरिएको छ।
भदौ १४ गते त्रिशूली नदीको बाढीले सडकको फेद कटान गरी कटान गरेपछि पहरा काटेर तयार पारिएको नयाँ ट्र्याकलाई फराकिलो बनाउने, सतह मिलाउने र ग्राभेल गर्ने कार्य एकसाथ अगाडि बढाइएको हो।
नौबिसे–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का अनुसार आगामी केही दिनभित्रै सडक सञ्चालनमा ल्याउने गरी ठूलो सङ्ख्यामा जनशक्ति र उपकरणहरू परिचालन गरिएको छ।
संघीय राजधानी काठमाडौँलाई जोड्ने यो मुख्य जीवनरेखा ठप्प हुँदा उपत्यकामा खानाका पकाउने ग्यास र खाद्यान्नजस्ता अत्यावश्यक सामग्रीको अभाव देखिन थालेको छ। दैनिक १४ हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने यो सडकखण्डलाई यथाशीघ्र सुचारु गराउन दुवैतर्फबाट द्रुत गतिमा काम भइरहेको छ।