मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, कस्तो रहनेछ रातिको मौसम?

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, कस्तो रहनेछ रातिको मौसम?

काठमाडौं।  हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास अवस्थित छ।

हाल देशभर साधारणतया बदली रहेको छ भने कोशी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्यतया बदली रहनेछ। देशका हिमाली भूभागका केही स्थानहरूका साथै पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान र मधेस, कोशी, बागमती तथा गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। पहाडी भूभागका साथै सुदूरपश्चिम प्रदेशको तराईका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति देशभर साधारणतया बदली नै रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।

देशका पहाडी तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।