बालेन सरकार पूर्ण रूपमा असफल भइसक्यो, छठपछि सडक आन्दोलन गर्छौँ: डा. सीके राउत

बालेन सरकार पूर्ण रूपमा असफल भइसक्यो, छठपछि सडक आन्दोलन गर्छौँ: डा. सीके राउत

जनकपुर। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकार हरेक दृष्टिकोणले पूर्ण रूपमा असफल भइसकेको बताएका छन्। अग्रगामी मोर्चाद्वारा शनिबार जनकपुरमा आयोजित मधेस प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको नीति र कार्यशैलीको कडा आलोचना गरे।

विदेशबाट नेपाली फर्काउने भाषण गर्ने सरकारको कार्यकालमा विगत चार महिनामा तीन लाख नेपाली वैदेशिक रोजगारीमा जान बाध्य भएको तथ्य प्रस्तुत गर्दै अध्यक्ष राउतले स्वास्थ्य बीमा रोकेर जनतालाई सास्ती दिन खोजेको आरोप लगाए। सीमानाकाबाट सर्वसाधारणले एक दर्जन केरा ल्याउँदा समेत रोक्ने तर ठूला भ्रष्टाचारमा मौन बस्ने नीति ल्याइएको भन्दै उनले निन्दा गरे। सामाजिक सञ्जालमा सरकारका गलत गतिविधिको विरोध गर्ने नागरिकलाई तुरुन्त पक्राउ गर्ने जस्ता अधिनायकवादी कदमले नै सरकार असफल भइसकेको पुष्टि गर्ने उनको भनाइ थियो।

सोही कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले विगतमा पदको लोभमा परेर सत्ता सहकार्य गर्नु ठूलो गल्ती भएको स्वीकारे। उनले मधेसवादी दल तथा नेताहरूले विगतका गल्तीहरूबाट पाठ सिक्दै अब एकजुट भएर अधिकार प्राप्तिका लागि अन्तिम सडक आन्दोलनमा होमिनुपर्ने बताए।

अध्यक्ष यादवले आगामी छठ पर्वपछि पुनः एक पटक सशक्त सडक आन्दोलन सुरु गर्ने घोषणा गरे। प्रधानमन्त्री बालेन्द्र शाहले ‘बल्गर मधेस’ बनाउने भाषण गरे पनि सत्ता सम्हालेको ६ महिनाभन्दा बढी बितिसक्दा पनि संविधान संशोधनको मुद्दा बिर्सिएको भन्दै उनले आक्रोश व्यक्त गरे। जनसंख्याको आधारमा बजेट विनियोजन हुनुपर्ने र मधेशी तथा सीमान्तकृत समुदायको हकका लागि संविधान संशोधन अनिवार्य रहेकोमा उनले जोड दिए।

मधेस प्रदेशका आठवटै जिल्लाबाट दुई हजारभन्दा बढी नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको उक्त कार्यक्रममा विभिन्न मधेसकेन्द्रित दलका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।