यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक: असोज ९ गते मुख्य दिन, १३ गते समापन हुने

यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक: असोज ९ गते मुख्य दिन, १३ गते समापन हुने

काठमाडाैं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको ऐतिहासिक एवं साँस्कृतिक पर्व इन्द्रजात्राका विभिन्न धार्मिक साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराईका अनुसार भक्तपुरको चित्तपोल वनबाट इन्द्रध्वजाको लिङ्गोका लागि रूख काट्न जान भदौ २८ गते आइतबार बिहान ९:५३ बजे र सोही दिन राति ८:४७ बजे रूख काट्ने साइत तय गरिएको छ।

उक्त लिङ्गोलाई असोज ३ गते शनिबार बिहान ८:०५ बजे नगर प्रवेश गराइने छ भने असोज ७ गते बुधबार बिहान ७:४७ बजे इन्द्रध्वजोत्थान (लिङ्गो ठड्याउने) काम गरिनेछ। जात्राको मुख्य दिन असोज ९ गते शुक्रबार तल्लो टोलमा यात्रा गराइने कार्यक्रम छ, जहाँ राष्ट्रपति लगायतका अतिविशिष्ट व्यक्तित्वहरूले हनुमानढोकास्थित गद्दी बैठक पुगेर श्री कुमारी, गणेश र भैरवको यात्रा अवलोकन गर्ने परम्परा छ।

यसैगरी, असोज १० गते शनिबार माथिल्लो टोलमा यात्रा गराइनेछ भने असोज १३ गते मंगलबार महिलाहरूले मात्र रथ तानेर नानीचा यात्रा सम्पन्न गर्नेछन्। सोही दिन राति ९:२५ बजे इन्द्रध्वजाको लिङ्गो ढाल्ने साइत रहेको छ।

लिङ्गो ढालेपछि राष्ट्राध्यक्षले कुमारी, गणेश र भैरवको दर्शन गरी प्रसाद ग्रहण गरेसँगै १३ दिन लामो इन्द्रजात्रा औपचारिक रूपमा समापन हुनेछ।