बाढीमा बेपत्ता वसन्त अझै बेखबर, कुशको शवमा छोराले दिए दागबत्ती

एमबीबीएस पढ्ने छोराको सपना अधुरो हुने चिन्ता

बाढीमा बेपत्ता वसन्त अझै बेखबर, कुशको शवमा छोराले दिए दागबत्ती

ललितपुर । गत भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका ललितपुरको गोदावरी बडीखेलका ४५ वर्षीय वसन्त पहरी अझै सम्पर्क नभएपछि कुशको शव बनाएर अन्तिम दाह संस्कार गरिएको छ।

फर्किएर आउने आशामा बसेको परिवारले अन्ततः १५औँ दिनमा केही खबर पत्ता नलागेर कुशको शव बनाएर पशुपति आर्यघाटमा धार्मिक विधिअनुसार अन्तिम संस्कार गरेको हो । 

बाबु फर्किने आशामा रहेका उनका २० वर्षीय छोरा शीतल पहरी र ११ वर्षीया छोरीका लागि यो क्षण निकै पीडादायी बन्यो। बाबुको शवसमेत देख्न नपाएका छोरा शीतलले कुशको शवमा दागबत्ती दिएर बाबुलाई अन्तिम बिदाइ गरे।

खोजी कार्य र लामो समय सम्म सम्पर्क नभए पश्चात् शीतलले डीएनए समेत दिएका थिए तर डीएनएको समेत केही खबर र यति नै समयमा मिल्ने अन्योल भए पछि आज कुशको शव बनाएर दाह संस्कार गरेको हो । 

वसन्त रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजना क्षेत्रमा हाइड्रो आयोजनाका चार जना विदेशी कर्मचारीलाई लिएर कम्पनीको गाडी चलाउँदै साइटतर्फ गएका थिए। भोटेकोशीमा बाढी आएपछि उनी सम्पर्कविहीन भएका हुन्।

परिवारका अनुसार भदौ ११ गते अर्थात् अगस्ट २७ तारिख बिहान करिब ६ बजे वसन्तसँग अन्तिमपटक सम्पर्क भएको थियो। त्यसपछि उनसँग कुनै सम्पर्क हुन सकेन। परिवार तथा सम्बन्धित निकायबाट खोजीका प्रयास भए पनि १४ दिनसम्म उनको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गर्ने निर्णय गरेको हो।

वसन्तका श्रीमती, एक छोरा र एक छोरी छन्। सामान्य आर्थिक अवस्थाको परिवारका छोरा शीतलले विज्ञान विषयबाट ए ग्रेडसहित प्लस टु उत्तीर्ण गरेका छन्। चिकित्सक बन्ने सपना बोकेका उनी अहिले एमबीबीएस प्रवेश परीक्षाको तयारीमा थिए।

तर बाबुको बेपत्तापछि परिवारमा आएको बज्रपातले उनको अध्ययन र भविष्यसमेत अन्योलमा परेको छ। बाबुको काजक्रियामा सेतो कपडामा रहेका शीतलले भावुक हुँदै भने, “अब एक महिनापछि परीक्षा छ। ममाथि बज्रपात भयो। बाबु नै नभएपछि मेरो पढ्ने सपना कसरी पूरा गर्ने होला भन्ने चिन्ता लागेको छ।”

बाबुको साथ र सहयोगमा एमबीबीएस पढेर चिकित्सक बन्ने सपना देखेका शीतलका लागि अहिले त्यो सपना पूरा गर्ने बाटो कठिन बनेको छ। एकातिर बाबुको वियोगको पीडा छ भने अर्कोतर्फ परिवारको जिम्मेवारी र आफ्नो भविष्यको चिन्ताले उनलाई झनै पिरोलेको छ।

बाबुको शवसमेत देख्न नपाई कुशको शवमा दागबत्ती दिनुपर्ने बाध्यता एउटा छोराका लागि कति पीडादायी हुन्छ भन्ने कल्पना गर्न पनि कठिन छ। भोटेकोशी बाढीले वसन्तको परिवारबाट एउटा अभिभावक मात्र खोसेको छैन, बाबुको सपना पूरा गर्दै चिकित्सक बन्ने तयारीमा रहेका छोरा शीतलको भविष्यमा समेत ठुलो प्रश्नचिह्न खडा गरिदिएको छ।