ग्यासको कालोबजारीविरुद्ध प्रहरी अप्रेसन- दुई दिनमा ८९४ सिलिण्डर बरामद

ग्यासको कालोबजारीविरुद्ध प्रहरी अप्रेसन- दुई दिनमा ८९४ सिलिण्डर बरामद

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र गैरकानुनी रुपमा ग्यास सिलिन्डर भण्डारण तथा कालोबजारी भइरहेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अप्रेसन तीव्र पारेको छ । अनुसन्धानका क्रममा प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट ठूलो परिमाणमा ग्यास सिलिन्डरहरु नियन्त्रणमा लिएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार हिजो र आज गरी दुई चरणमा फरक–फरक स्थानहरुबाट सिलिन्डरहरू बरामद गरिएको हो । प्रहरीले हिजो सूर्यविनायक क्षेत्रबाट ७५ थान, भक्तपुरको इटाछेँबाट १४ थान, नरेफाँटबाट १८३ थान र वसुन्धरा क्षेत्रबाट १८९ थान ग्यास सिलिन्डर नियन्त्रणमा लिएको थियो ।

आज बालाजु ग्यास स्टेसन वसुन्धरा क्षेत्रबाट थप ७०५ थान सिलिन्डरहरू बरामद गरिएको छ । बजारमा अस्वाभाविक अभाव सिर्जना गर्ने, सुरक्षा मापदण्ड विपरीत भण्डारण गर्ने र सर्वसाधारणलाई सास्ती दिने नियतले सिलिन्डर लुकाएको पाइएकाले प्रहरीले यस विषयमा गम्भीरताका साथ अनुसन्धान अघि बढाएको हो ।

गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई कानुनी दायरामा ल्याउने प्रक्रिया भइरहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।