के–के छन् राष्ट्रसंघको बैठकमा प्रधानमन्त्री शाहले उठाउने विषय ?

के–के छन् राष्ट्रसंघको बैठकमा प्रधानमन्त्री शाहले उठाउने विषय ?

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले यही २४ सेप्टेम्बरमा अमेरिकाको न्यु योर्कमा आयोजना संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजित प्रेस ब्रिफिङमा यसबारे जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सम्बोधनका क्रममा जलवायु परिवर्तन र यसबाट सिर्जित प्रकोपबाट नेपालले बारम्बार भोग्नुपरेको जनधनको ठूलो क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गर्नेछन् । साथै, नेपालले नगन्य कार्बन उत्सर्जन गरेता पनि ठूलो मात्रामा जलवायु परिवर्तनका कारण परेको नकारात्मक असरबारे विश्वसमक्ष प्रस्तुत गर्नेछ ।

यसका साथै हालै रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट भएको क्षतिबारे जानकारी गराएर तत्काल उचित राहतका लागि प्रधानमन्त्री शाहले विश्वसमुदायलाई आह्वान गर्ने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए ।

राईका अनुसार प्रकृतिमैत्री जीवनशैली, ४६ प्रतिशतभन्दा बढी जंगल, विशाल हिमालय क्षेत्र र बृहत् नदी प्रणालीमार्फत नेपालले विश्वको वातावरण संरक्षण र प्रवर्द्धनमा पुर्‍याउँदै आएको योगदानबारे पनि प्रधानमन्त्री शाहले महासभामा जानकारी दिनेछन् ।

त्यस्तै, विश्वव्यापी जलवायु परिवर्तका कारण हिमालमा परेको असरका कारण परेको प्रभावका कारणबारे छलफल गरी विश्व समुदायको ध्यानाकर्षण गर्ने राईले जानकारी दिए । महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल पनि न्यु योर्क जाने र त्यहाँ हुने साइट वार्तामा सहभागी हुने राईले बताए ।