बजारमा ग्यास अभावको चौतर्फी दबाब: १५३ दिनमै मन्त्री गौरीकुमारीको पद गुम्यो

बजारमा ग्यास अभावको चौतर्फी दबाब: १५३ दिनमै मन्त्री गौरीकुमारीको पद गुम्यो

काठमाडौं। खाना पकाउने एलपी ग्यासको गम्भीर अभाव समाधान गर्न नसकेपछि अन्ततः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।

ग्यास अभावलाई लिएर चौतर्फी विरोध र संसदीय समितिमा उद्योगी-व्यवसायीलाई ‘पाता कस्नुपर्ने’ विवादास्पद अभिव्यक्ति दिएको भोलिपल्टै उनले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा पत्र बुझाएकी हुन्।

गत चैत २७ गते मन्त्रालय सम्हालेकी यादव १५३ दिनको कार्यकालपछि मन्त्रालयबाट बाहिरिएकी हुन्। उनको राजीनामापछि सरकारले मन्त्रालयको जिम्मेवारी दीपककुमार साहलाई सुम्पेको छ।

संसदीय समितिमा निरीहता र विवादित अभिव्यक्ति

यसअघि बुधबार संसद्को उद्योग तथा वाणिज्यसम्बन्धी समितिमा बोल्दै मन्त्री यादवले कर्मचारी र उद्योगी-व्यवसायीको असहयोगका कारण ग्यास आपूर्ति सहज बनाउन नसकेको भन्दै निरीहता प्रकट गरेकी थिइन्। सो क्रममा उनले देशमा रहेका ५८ वटा ग्यास उद्योग धेरै भएको र दुईवटा मात्र राखेर बाँकीको लाइसेन्स खारेज गर्नुपर्ने धारणा राखेकी थिइन्।

छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बदनकुमार भण्डारीले बजारमा ग्यास आपूर्ति गराउन नसके राजीनामा दिन आग्रह गरेका थिए। उपत्यकामा ग्यासका लागि लामो लाइन, चर्को मूल्य र कालोबजारीको गुनासो बढिरहँदा कृष्णभीरमा सडक भासिएपछि आपूर्ति झन् प्रभावित बनेको थियो। मन्त्रालयले हटलाइन सञ्चालन, अनुगमन तथा नागरिकताका आधारमा ग्यास वितरण जस्ता प्रयास गरे पनि बजारको अभाव घट्न सकेको थिएन।

स्वेच्छिक राजीनामा कि बर्खास्ती?

मन्त्री यादवको सचिवालयले स्वेच्छिक राजीनामाको दाबी गरे पनि प्रधानमन्त्री कार्यालयको दबाबपछि उनले पद छाड्न बाध्य भएको सिंहदरबार स्रोतको भनाइ छ। रास्वपा सांसद अमरेशकुमार सिंहले भने संसद् बैठकमा बोल्दै यो राजीनामा नभई व्यावहारिक रूपमा बर्खास्ती नै भएको दाबी गरेका छन्।

यसअघि पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन हुनुअघि सूचना चुहिएको विषय र अनुगमनका क्रममा होटलहरूमा छापा मारेको भन्दै मन्त्री यादव विवादमा तानिएकी थिइन्।

संसद्मा ग्यास अभावको चर्को विरोध

बिहीबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद बोधविक्रम श्रेष्ठले भारतबाट ग्यास निरन्तर आइरहे पनि वितरण प्रणालीमा गडबडी देखिएकाले मन्त्रालय, आयल निगम, उद्योगी र व्यापारीलाई राखेर सार्वजनिक बैठक गर्न माग गरेका छन्। उनले ढुवानीका लागि थप गाडी परिचालन गर्न र विद्युतीय चुल्होमा विशेष छुटको व्यवस्था ल्याउन सुझाव दिएका छन्।

यसैगरी ग्यास आपूर्ति सहज बनाउन नसकेकोमा आपत्ति जनाउँदै प्रतिनिधिसभाको उद्योग समितिका सदस्य हरिमोहन भण्डारीले नैतिक जिम्मेवारी लिँदै समिति सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

नवनियुक्त मन्त्री दीपककुमार साह र उनको प्राथमिकता

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका दीपककुमार साह सुनसरी-४ बाट निर्वाचित सांसद हुन्। पुल्चोक इन्जिनियरिङ कलेजका स्नातक साह विभिन्न हाइड्रोपावर कम्पनीको अनुभव हासिल गर्दै राजनीतिमा सक्रिय भएका हुन्।

बिहीबार पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्रालय पुगेका नवनियुक्त मन्त्री साहले आफ्नो पहिलो प्राथमिकता आम नागरिकका लागि ग्यासको सहज आपूर्ति मिलाउनु रहेको बताएका छन्। उनले निवर्तमान मन्त्री यादवसँग मन्त्रालयका बाँकी कार्ययोजनाबारे जानकारी लिएर सर्वसाधारणको आवश्यकता परिपूर्ति गर्न तत्काल आवश्यक कदम चाल्ने स्पष्ट पारेका छन्।