कोशी, बागमती र गण्डकीमा मध्यमदेखि भारी वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकीमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानकै आसपासमा अवस्थित छ।

आज देशभर साधारणतया बदली (बादल लाग्ने) रहने महाशाखाले जनाएको छ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

पहाडी भू-भागअन्तर्गत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यस्तै तराई भू-भागमा मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार मधेश, कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ। साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ।

आज राति पनि हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

देशका पहाडी भू-भागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षा हुनसक्नेछ भने राति कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।