काठमाडौँ । सिभिल बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक इच्छाराज तामाङलाई ठगीसम्बन्धी कसुरमा साढे ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिबानाको सजाय तोकिएको छ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश कृतबहादुर बोहराको इजलासले बिहीबार सजाय निर्धारण गरेको हो। यसअघि गत भदौ ११ गते अदालतले तामाङसहित १७ जनालाई सो मुद्दामा दोषी ठहर गरेको थियो।
अदालतले अन्य कसुरदारहरूलाई कसुरको मात्राअनुसार फरक-फरक सजाय सुनाएको छ:
-
केशवलाल श्रेष्ठ: ५ वर्ष कैद र ४५ हजार रुपैयाँ जरिबाना।
-
रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, दानहिरा तुलाधर, सिर्जना शाक्य तामाङ र लालकाजी गुरुङ: जनही १ वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना।
-
दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, नगेन्द्र बिमली, मुकुन्दप्रसाद नेउपाने, रामराज मास्के र हरिप्रसाद रिसाल: जनही ६ महिना कैद र ५ हजार रुपैयाँ जरिबाना।
-
मीना गुरुङ: ५ महिना कैद र ४ हजार रुपैयाँ जरिबाना।
बिगो रकम दामाशाही हुने
फैसलाअनुसार कुल ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ मूल बिगो कायम गरिएको छ। सहकारीबाट लिइएको ६ करोड ९० लाख रुपैयाँ ऋण कानुनबमोजिम ब्याजसहित असुल गरी उक्त रकम मूल बिगोबाट घटाइने र बाँकी हुन आउने बिगो रकम कसुरदारहरूबाट दामाशाहीका आधारमा असुल गरिने अदालतले जनाएको छ।